शरीर आफ्नै आफैँको लागि त्यो बोझ नबनोस्
यो हाम्रो देह घृणाको पात्र कहिल्यै नबनोस्
शरीर हाम्रो पिँजडा भयो यो प्राण चरो भो
निस्केर जाओस् अनन्त यात्रा फर्केर आए भो ।।
फुर्सद छैन मानिसलाई हुँदैछ मेशिन
निर्वाह गर्न हुँदैछ गारो कठीन जीवन
बिरामी हेर्नु कि काम गर्नु यसैमा भिन्नता
के गर्लान् कठै ! आफन्तहरु लाग्दछ खिन्नता ।।
आएको रित्तै जाने हो खाली जाँदैन साथमा
सुकार्य केही गरेको भए समाज बीचमा
विद्वान वर्ग त्यसैले केही चेतना छर्दछन्
राष्ट्रको अनि जनताका निम्ति सुभलो गर्दछन् ।।
जन्मिएपछि नमरी हुन्न अमर को छ र ?
ढिलो वा चाँडो मात्र हो हाम्रो नश्वर शरीर
पूर्वज साथै आफन्तीजन मृत्युको मुखमा
परेको पनि देखिदैँ आयो हामी छौँ पालोमा ।।
मानव हामी जन्मियौँ पनि विविध थरीका
कुनैमा बाँच्ने रहर हुन्छ कसैमा मृत्युका
करोडौँ खर्च गरेर धेरै गर्दछौँ प्रयास
अल्पायुवय भित्रैमा गर्ने जीवन विनाश ।।
संयुक्त प्रथा हुँदामा राम्रो थियौ है पहिले
कामकाजी हुँदा घरमा कोही नहुने अहिले
बिरामीलाई सुसार गर्न धेरैको समस्या
देखिन्छ अहो ! सर्वत्र पनि दुःखद भविष्य ।।
भेटिन्छ कठै ! श्री साथीभाइ सालको मुढोझैँ
इन्तु न चिन्तु भएको देख्दा यो मन कटक्कै
साँच्चिकै यदि दयालु भए हे मेरो ईश्वर !
कसैमा बोझ नपारी मेरो यो मेरो आग्रह ।।
–बकैँया—४, छतिवन
भारतीय नेपाली साहित्य र साहित्यकारहरुको बारेमा विस्तृत
जानकारी प्राप्त गर्नका लागि ‘हाम्रो पुरुषार्थ’को सम्पूर्णाङ्क १०५
पढ्न नबिर्सनुहोस् ।
हाम्रो पुरुषार्थ अंक १११ · गीत/कविता/गजल/मुक्तक · पृ. ९७
हे मेरो ईश्वर !
जनार्दन खनाल