चोटहरुलाई बुझ्न खोज्दै छु म,
मनमा परेका आघातहरुलाई बुझ्न खोज्दै छु म,
कसरी भए यी दोषी मनहरु ?
कसरी भए यी खोटी मनहरु ?
खै कसरी बुझँू म मनका चोटहरुलाई ?
हनुमान्ले छाती च्यातेर राम र सीतालाई देखाए झंै
भगवान्प्रतिको दायित्व भक्तले पूरा गरे झैं
म आ ना छातीका चोटहरु देखाउन खोज्दैछु,
म आ नो छातीलाई रित्तो बनाउन खोज्दैछु,
छातीका चोटहरुलाई बुझ्न खोज्दै छु म ।
तर खै,
चोटहरु परिवर्तन हुँदैनन्,
केवल दुखाइरहन्छन् छातीहरु, चोटहरुले
पोलिरहन्छन् छातीहरुलाई, पीडा बनेर चोटहरुले
चोटहरु यथास्थितिमै छन्,
चोटहरु गतिहीन छन्, चल्दैनन्,
चोटहरु जस्ताका तस्तै छन्,
चोटहरुमा परिवर्तन आउँदैन,
चोटहरुले केवल शरीरहरुलाई गलाइरहन्छन्
चोटहरुले शरीरहरुलाई थिचिरहन्छन्,
मिचिरहन्छन् छाला चाउरी परुन्जेलसम्म चोटहरुले
थिचिरहन्छन् शरीरको अन्त्य नहुँदासम्म चोटहरुले।
चोटहरु भोटका नुनहरु र अमिलोका चुकहरु रहेछन्
यी नुन र चुकहरुले मनहरु भतभती पोल्दा रहेछन्
यी चोटहरुले पोलेका छातीहरु चहर्याउँदा रहेछन्,
दुख्दा रहेछन्,
आघात र बोझहरुमा चोटहरु रमाउँदा रहेछन्,
चोटहरुले निरीह शरीरमा कब्जा जमाउँदा
शरीरहरु शिथिल हुँदा रहेछन्,
शरीरहरु कमजोर हुँदा रहेछन्,
खुट्टाहरु लरखराउँदा रहेछन् चोटहरुले थिच्दा
बाहुहरु धेरै काँप्दा रहेछन् चोटहरु सक्रिय हुँदा
चाउरिएका छालाहरु चोटहरुसँग जुध्न सक्दा रहेनछन्
पुष्ट छालाहरु पनि कमजोर हुँदा रहेछन्
चोटका थिचाइहरुमा
काला र कमजोर छालाहरुको
केही जोर चल्दो रहेनछ चोटहरुसँग
चोटहरु बलवान् हुँदा रहेछन्
बलिया हस्तीहरुलाई पनि चोटहरुले दबाउँदा रहेछन्
परिवेशको अनुपयुक्तता नै चोटहरुका स्रोतहरु रहेछन्
गतिहीन, शक्तिहीन र धनहीनहरुमा
चोटहरु हावी हुँदा रहेछन्
चोटहरुले तिनीहरुलाई नै थिच्दा रहेछन्
गतिवान्सँग चोटहरु हार्दा रहेछन्
बलवान्सँग चोटहरु भाग्दा रहेछन्
शक्तिवान्सँग चोटहरु झुक्दा रहेछन्
धनवान्सँग चोटहरु शरण पर्दा रहेछन्
त्यसैले
चोटहरु पक्षपाती हुँदा रहेछन्,
चोटहरुसँग लड्न सक्नुपर्दो रहेछ
चोटहरु त केवल छातीभित्रका खोटहरु रहेछन्
चोटहरु के हुन् ? बुझ्न खोज्दै छु म
चोटहरु त केवल मनभित्रका खोटहरु रहेछन् ।
बगनासकाली २ पोखराथोक पाल्पा
हाम्रो पुरुषार्थ अंक १११ · गीत/कविता/गजल/मुक्तक · पृ. १३६
चोटहरु
हरि भट्टराई