२०८२ पुस ११ गते शुक्रबारको बिहान । उन्मत्त बैँसमा छ जाडो ।
राष्ट्रिय बाणिज्य बैक भूपू कर्मचारी संघको आयोजनामा छैटौं पदयात्रा कार्यक्रम छ आजै र लिइएको छ प्रथम पटक यात्रामा जोडिने निर्णय ।
सबेरै उठेर तयार हुन्छु । बिहान ६ बजे निस्कन्छु घरबाट, सल्लाहअनुसार ताराप्रसाद पौडेलजी आइसक्नुभएको छ नजिकै कार्यविनायक गणेश मन्दिर छेउ । हामी भेटिन्छौँ र लाग्छौं बालाजु पार्क हुँदै माछापोखरी तर्फ ।
पुसको बिहान चिसो छ निकै, बंैसालु छ पुसे जाडो । बाक्ला कपडाको न्यानो ओढिरहेका छौं हामी ।
माछापोखरीबाट मयुरमा बस्छौं ६.१५मा गुड्छ गाडी । जगाती पुग्दा ८ बज्छ ।
सडक छेउ प्रतीक्षामा छन् यस पदयात्राका संयोजक शान्तिलाल श्रेष्ठ, उनी देखाउँछन् बाटो र भन्छन् ‘अगाडि टेम्पो छ त्यसमा जानुस्’, र भन्छन् ‘केहीबेर अरु साथीहरुलाई कुर्छुृ र आउँछु म ।’
संयोजकको भूमिका यहिँदेखि निर्बाह गर्दैछन् उनी । –– –हामी टेम्पोमा बस्छौं । दुई जना मित्रहरु विनोद पोखरेल र भैरव हमाल त्यसमा छन् अघिदेखि, हामी दुई थपिएपछि टेम्पो अघि बढ्छ । ‘अझै एकजना अटाउँथ्यो’, आनाकानी गर्छन् चालक । हामी भन्छौं ‘कति पैसा दिनुपर्छ हामी दिउँला नि, जाऊँ, हिड्नुस् ।’ उनी अघि बढ्छन् । म सोध्छु ‘ब्लुबुक हुन्छ यसको ?’, चालक भन्छन् ‘हुन्छ ’ ‘अनि त्यसमा सिट सङ्ख्या ?’ ‘चारवटा’ ‘चालक समेत चार हैन त ?’ म भन्छु । जवाफमा उनी भन्छन् ‘हो ।’ ‘अनि बिमा पनि छ नि ?’ म सोध्छु । ‘हो, छ ’ उनी भन्छन् ।
म भन्छु ‘अनि यसमा ६ जना बोकेर ह्ड्दिा केही भैहालेमा ? क्षतिपूर्ति त ब्लुबुक अनुसारको सङ्ख्यामा मात्रै पाइन्छ नी, पैसाको लागि यस्तो जोखिम लिनुहुन्छ त ? पैसामात्र ठुलो होइन नि, दिन सधै उस्तै हुँदैन, नराम्रो दिनमा के पर्छ के ?’
मेरा कुरा सुनेर चालक मौन हुन्छन् । –– –उमेरले युवक नै छन् उनी । शायद मेरा कुरा उनको व्यवसायको हिसावले अरुचिकर थियो तर उनले मैले बिमाको कुरा गरिसकेपछि त्यसको प्रतिवाद गर्ने प्रयत्न नै गरेनन् ।
मैले उनको नाम सोधेर कुराकानीलाई निरन्तरता दिने प्रयास गरेँ, सोधेँ ‘तपाईको घर यतै हो ?’ उनले भने ‘हो, यहीँ हो, डोलेश्वर नेरै पर्छ’, ‘नाम नि ?’ उनले भने ‘दीपक लामा ।’ –– –झण्डै पाँच किलोमिटरको दूरी यात्रापश्चात् डोलेश्वर मन्दिर सामु पुगेपछि टेम्पो अडियो, हामीले प्रतिव्यक्ति रु. ५० का दरले भाडा दियौँ र ओर्लियौँ । हामी पुग्नु अघि नै धेरै साथीहरु पुगेका छन् यहाँ र एउटा होटल जहाँ खाजा खाने व्यवस्था छ, त्यहाँ भिडभाड छ । कसैले खाइरहेका, कोही खाइसकेका छन् खाजा । हामी मिसिन्छौँ त्यतै र खाजा चिया खान्छौं । यसपछि डोलेश्वर महादेवको दर्शनका साथै डोलेश्वर मन्दिर परिसरको अवलोकन गर्दछौँ ।
लुकेको यो पवित्र धार्मिक स्थल भारतको बद्रि–केदारमा बाढी–पहिरोले त्यहाँ जनधनको क्षति गरेको झण्डै डेढ दशक अघिको घटना पछि यो ठाउँको, यस स्थानको महत्त्व बढेको हो । केदारनाथको शिरका रुपमा यस स्थानमा धार्मिक गतिविधि हुन थालेपछि यहाँसम्म पुग्ने सडकलगायत पूर्वाधार र मन्दिर निर्माण समेतका काम भए । यहाँ अहिले सरस्वती मन्दिर लगायतका मन्दिर छन् । यो एक पवित्र धार्मिक क्षेत्रको रुपमा विकसित भएको छ र यससँगै यस क्षेत्र आसपास बस्ती बाक्लिंदो छ भने स्थानीयले आयआर्जनका साथै जीविकालाई सहज पार्ने अवसर समेत पाएका छन् । –– –सबैजना जुटिसकेपछि ९ बजिसक्दा हाम्रो टोली अघि बढ्छ कच्ची सडक हुँदै । झण्डै आठ किलोमिटर हिड्नुपर्छ भन्ने अनुमान गरिएको छ आजको गन्तव्य पुग्न र फर्कन ।
पुगिन्छ पाटी भन्ज्याङ । यस भन्ज्याङबाट पूर्वतर्फ काभ्रेका केही भाग देखिन्छ भने यता काठमाडौ उपत्यकाको केही भाग । उता पश्चिम दक्षिणतर्फ घ्याम्पेडाँडा देखिन्छ । हामी पूर्वतर्फ लाग्छौँ र अब यहाँबाट प्रारम्भ हुन्छ, वायाँतर्फ हाम्रो गन्तव्य छिचोल्ने उकालो ।
सडक छ कच्ची अर्थात् भर्खर स्वरुप लिदै गरेको । त्यसैलाई समाएर हामी उकालो लाग्छौँ, झण्डै ११.३० मा पुग्छौँ गन्तव्य बुकाचो गढी ।
अग्लाअग्ला रुखहरु छन् यहाँ सल्ला आदिका र छन् बुट्यान, झाडी आदि पनि । लामो हिमश्रृङ्खला देखिन्छ उत्तरतर्फ । शान्त छ यो र प्राकृतिक सुन्दरतामा रमाउन चाहनेहरुका लागि उपयुक्त नजिकको सहज गन्तव्य रहेछ ।
‘लौ यहाँ त राष्ट्रनिर्माताको भव्य सालिक पो रहेछ ! ’उता अर्कोपट्टि पुगेका साथीहरु हौसिँदै छन् ! यता टावरमा उक्लिएका हामीलाई साथीहरुको चर्को आवाजले उतै तान्दछ र आँखाहरु कौतूहल बोकेर उतै दौडन्छन् ।
साँच्चिकै हो पो रहेछ ! अब हामी ओर्लेर त्यतै लाग्छौँ ।
यात्रा योजना पूर्वसम्म नामै नसुनेको यो गढीमा नेपाली सेनाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक स्थापना गरेको छ । यहाँ टावर छ दृश्यावलोकनका लागि र एक छेउमा मन्दिर छ, जुन मूर्तिविहीन देखिन्छ । थाहा हुन्छ यो विन्ध्यवासिनीको मन्दिर हो र यहाँ छिटै मूर्ति स्थापना गरिनेछ । भ्युटवार, मन्दिर, राष्ट्रनिर्माताको पूर्ण कदको सालिक यहाँका भौतिक संरचना हुन् । यी भौतिक संरचनाहरुको संरक्षणका लागि केही व्यवस्था हुनुपर्ने आवश्यकता महसुस हुन्छ यतिखेर यहाँ पुग्दा ।
डांँडामा फोहर सुरू भैसकेको छ । प्लास्टिक र पानी, पेय पदार्थ र मदिराका बोतलको साम्राज्य बिस्तारै फैलंदो छ । सम्भवतः वनभोज आदिका लागि यहाँ पुग्ने क्रम प्रारम्भ भैसकेको छ, तर आफूले गरेको फोहर जथाभावी मिल्काउने असभ्यता यहाँ छरपस्ट छ । अनि महसुस हुन्छ न यसको व्यवस्थित सञ्चालन न त संरक्षण हुन नै सकेको छ ।
यहाँ आइपँूग्दा नेपाली सेनाले राष्ट्रनिर्माताको सालिक उभ्याउँने काम यसै गरेको होइन र यस स्थानको पक्कै केही ऐतिहासिक महत्त्व छ भन्ने अनुमान गर्न सकिन्छ । तर यस्तो ऐतिहासिक महत्त्वका साथ उजागर गर्न खोजिएको स्थानको संरक्षण र व्यवस्थापन पक्षमा नेपाली सेना, स्थानीय पालिका तथा सम्बद्ध पक्षहरुको ध्यान पुग्नैपर्ने देखिन्छ अन्यथा केही समयमै यहाँका भौतिक संरचनामा गरिएको लगानी व्यर्थ सावित हुनेछ । –– –
यहाँबाट केहीबेर काठमाडौ उपत्यकाको अवलोकन तथा फोटो खिच्ने काम गरेपछि हामी केही तल होटलमा पुग्छौँ जहाँ खानाको व्यवस्था छ ।
मम कुन भाषाको शब्द होला यो ? अर्थ के होला यसको ? जिज्ञासा उत्पन्न भएको हो यहाँको यात्रा तय भएदेखि नै । अनि ‘बुकाचो’ को अर्थ सोधेको हुँ मैले उकालो उक्लंदा नै भेटिएका स्थानीय एक नेवार समुदायका र अर्का तामाङ समुदायका व्यक्तिसँग । यस भेगका रैथाने जाति तिनै हुन ् तर उनीहरु दुबैले त्यसको अर्थ बताउन सकेनन् न त ऐतिहासिक महत्त्वका बारे नै उनीहरुले केही भन्न सके । तर नेपाली सेनाको पहलमा भएको राष्ट्रनिर्माताको सालिकसहितका भौतिक संरचना निर्माण कार्यले यसको केही महत्त्व पक्कै छ भन्ने लाग्छ ।
इतिहास जेसुकै होस् प्रकृतिसँगको सान्निध्य तथा दृश्यावलोकनका लागि यो स्थान उपयुक्त छ र यहाँ आइपुग्ने जोकसैलाई यसले प्रभावित गर्दछ ।