“स्तर नमिल्नेसँग त अप्ठ्यारो पो पर्ला कि?“ अलि असजिलो मान्दै भने घनश्यामले ।
“केको अप्ठ्यारो मान्नु, अहिलेको जमानामा पनि ? फेरि उनीहरु त्यस्तो असजिलो पनि छैनन् । खानदानी, सज्जन मान्छे हुन् । केटो हीरा छ । मौका गुमाउनु हुन्न ।“ भुवन गुरूले फकाउने भाकामा भने ।
आर्थिक स्थिति कमजोर भए पनि धोतीटोपी गरी घनश्यामले छोरीको पढाइलाई प्राथमिकता दिए । नविनाले पनि बुबाको सपना साकार तुल्याइन् । अब्बल दर्जामा पढाइ पूरा गरि सरकारी जागिरको तयारीमा थिइन् ।
घनश्याम भने राम्रो केटो आएमा विवाह गर्नुपर्छ भन्नेमा थिए । विवाहपछि पनि जागिर गर्न सकिन्छ भनी सम्झाउँथे छोरीलाई ।
भुवन गुरूले केटालाई लिएर घरमै आए ।
दुबै परिवार बीच कुराकानी भयो । केटाकेटीको हेराहेरपछि अलग्गै कुराकानी पनि भयो ।
दुबै परिवार विवाहको लागि मञ्जुर भए ।
“मेरो त सम्पत्ति भनेकै यही छोरी हो हजुर । यसैको पढाइमा जे सक्दो लगानी गरेँ । दाइजो दिने हैसियत छैन । पछि फेरि अप्ठ्यारो नपरोस् ।’’ घनश्यामले हात जोड्दै प्रष्ट कुरा राखे । “हामी पनि दाइजो प्रथाको विरोधी नै हौँ । त्यस्तो केही दिनु पर्दैन ।’’ केटा पक्षले आश्वस्त पार्न खोजे ।
भोलिपल्ट गुरू आइपुगे र भने, “दाइजो लिने पक्षमा त छैनन् तर जन्ती आउँदा जमानाअनुसार इज्जत राखिदिनुपर्ला । केटाका दाजुभाइ, जेठाबा, कान्छाबा, नजिकका आफन्तहरुलाई त्यही अनुसार व्यवहार गर्दिनुपर्ला । सम्धेलो गर्दा हजुरले विचार पुर्याइहाल्नुहुन्छ, केही भन्नै परेन ।“
घनश्याम बोल्नै लागेका थिए, गुरू पुनः बोले, “अँ साच्चै, लोकलाज बुझाउन पनि केटाको कोठा सजाइदिनुपर्ला । धेरै पर्दैन,एउटा राम्रो पलङ,आजकल चलेको दराज, कार्पेट, कोठा सुहाउँदो टिभी र वासिङ्ग मेशिन भए भैहाल्छ ।“
“नाई बाबा, यो विवाह मलाई मञ्जुर छैन । विवाह गरी लगेर सुताउने पलङसम्म नभएको भिखारीसँग म विवाह गर्दिनँ ।“
गुरूको कुरा सुनिरहेकी नविना मुर्मुरिएर आगो बनिन् । अमरपुर – गुल्मी, हाल ः तिलोत्तमा –२, रुपन्देही
नेपालका सुप्रसिद्ध चार धाममध्येको एक
ऐतिहासिक पवित्र तीर्थस्थल रुरुक्षेत्रको बारेमा विस्तृत जानकारी प्राप्त गर्न किरण पुस्तकालयद्वारा प्रकाशित ‘हाम्रो परुषार्थ’को
रुरुक्षेत्र विशेषाङ्क खोजी खोजी पढुनुहोस् ।