मुख्य सामग्रीमा जानुहोस्

हाम्रो पुरुषार्थ अंक १११ · लेख/आलेख/निबन्ध/समीक्षा/टिप्पणी/संस्मरण/व्यक्तिवृत्त · पृ. ९९

अस्ट्रेलिया यात्राका केही अनुभूतिहरू

डा. ईश्वरीराज लौडारी

अस्ट्रेलियाका बारेमा धेरै सुन्दै आएको भए पनि त्यस भूमिमा अवतरण गर्ने अवसर मिलेको थिएन । नयाँ देशको यात्रा गर्ने र अनुभव लिने मानवीय उत्सुकता मभित्र पनि छँदै थियो । त्यसमा पनि अस्ट्रेलियाजस्तो विकासको नमूना देश, युवाहरुको सपना र आकर्षणको देश, प्राचीन आत्मा र आधुनिक साहसिक कार्यको देश, विचित्रताको देश आदि विशेषता रहेको भूमिमा एकपटक पुग्न पाए हुन्थ्यो भन्ने चाहना हुनु स्वाभाविकै थियो । तर कुनै निश्चित उद्देश्य र प्रवेश अनुमतिको व्यवस्था नहुन्जेलसम्म त्यस देशको यात्रा गर्ने चाहना पूरा हुन सकेको थिएन । त्यसैबीच नाति सोभित तिमिल्सिनाको एम.ई. ग्रेजु एसन कार्यक्रमको संयोगले यात्राका लागि उपयुक्त वातावरण बन्यो । उनकै आमन्त्रण र व्यवस्थापनमा छोरी शोभा र ज्वाइँ नवराजका साथ अस्ट्रेलियाको मेलबर्न जाने कार्यक्रम बन्यो । त्यसैअनुरुप ४ मे २०२६ देखि २ जुन २०२६ सम्म करिब एक महिनाको यात्रा सम्पन्न गरियो ।

वेस्टर्न अस्ट्रेलिया, नर्थन टेरिटोरी, क्विन्सल्याण्ड, साउथर्न अस्ट्रेलिया, न्यु साउथ वेल्स, भिक्टोरिया र ताजमेनिया रहेको विशाल र वैभवशाली अस्ट्रेलियाको त्यति छोटो समयमा घुमफिर, अवलोकन र अध्ययन गर्नु बिलकुलै सम्भव थिएन । तथापि समय सीमालाई ख्याल राखी भिक्टोरियाअन्तर्गतको मेलबर्न, न्यु साउथ वेल्सअन्तर्गतको सिड्नी र राजधानी क्यानबेराका केही महत्त्वपूर्ण स्थानहरुको अवलोकन–अध्ययन गर्न सकियो । त्यसबेलाका केही संस्मरणहरु यात्रा विवरणका रुपमा प्रकाश पार्नु प्रासङ्गिक ठानेको छु । यसबाट अस्ट्रेलियाका बारे जानकारी लिन चाहने पाठकवर्गका लागि केही मात्रामा भने पनि उपयोगिता मिल्नेछ भन्ने विश्वासका साथ कलम अगाडि बढाउँछु ।

निर्धारित कार्यक्रमअनुसार ४ मेको बिहान १० बजेतिर काठमाडौँबाट कतार एयरवेजको जहाजमा हामी दोहातर्फ लाग्यौँ । म धेरैपटक दोहा एयरपोर्ट हुँदै यात्रा गरिसकेको हुँदा मेरा लागि त्यो यात्रा खासै नयाँ अनुभव भने थिएन । दोहा एयरपोर्ट उत्रिसकेपछि मेलबर्नका लागि लामो समयसम्मको पट्यारलाग्दो पर्खाइले गर्दा यात्राको उत्सुकता बढ्न सकेको थिएन तथापि त्यहाँको चहलपहल र रङ्गीचङ्गी वातावरणले केही प्रभाव पारेकै थियो । त्यसै बेलुकीतिर एउटा भीमकाय जहाजमा बसेर हाम्रो यात्रा मेलबर्नतर्फ अगाडि बढ्न थाल्यो । झण्डै चौध घन्टाको लामो यात्रामा हामी आ नो सिटअगाडिको मोनिटर हेर्दै गर्दा समुद्री भागहरु, अग्ला पर्वतहरु, हिन्द महासागरका भागहरु, मरुभूमि, घनाजङ्गलहरु र आवाद बस्तीहरु पार गर्दै जान्थ्यौँ । नास्ता र खानाको व्यवस्था पनि राम्रो थियो । कहिले झकाउने त कहिले ब्यूँझने गर्दै हामी भोलिपल्ट त्यहाँको स्थानीय समयअनुसार बेलुकीको ५.४० तिर मेलबर्नको टुल्लामेरिन एयरपोर्टमा अवतरण गर्‍र्यौँ । त्यहाँ हिउँदको समय भएकाले चिसो बढ्न थालेको रहेछ । यताउती आँखा घुमाउँदा अत्यन्त नौलो वातावरण अनुभव हुन थाल्यो । एयरपोर्टबाट निस्केर हामी ब्लेमोर वेको साइड हुँदै मरन्डा भन्ने ठाउँमा नातिनी शिरिषाको घरमा बास बस्न पुग्यौँ । जहाजको लामो यात्रा, चिसोको प्रभाव र नौलो वातावरण भएर होला मलाई त्यस रात स्वास्थ्यमा समेत थोरै असहज भएको थियो ।

मेलबर्न पुगेको भोलिपल्टदेखि अस्ट्रेलिया हेर्ने, घुम्ने मेरो कौतुहलले साकार रुप लिने थियो । हामी बसेको ठाउँमा निकै चिसो थियो, हुस्सु लागिरहेको थियो र बतास चलिरहेको थियो । जताततै हरियाली, एकैनासका जस्ता ससाना घरहरु, सफा सडक र ठाउँठाउँमा पार्कहरु देखिन्थे । सडकमा गाडीहरु गुडिरहेका देखिन्थे । हामीलाई के पनि थाहा भयो भने अमेरिका–इरान युद्धले निम्त्याएको इन्धन सङ्कटका कारण भिक्टोरिया राज्यमा अप्रिल र मे महिनाभर मेट्रो, ट्रेन, बस आदि सार्वजनिक यातायात सबै यात्रुहरुका लागि निःशुल्क गराइएको रहेछ । त्यसबाट मैले मनमनै त्यहाँको सरकारको लोककल्याणकारी प्रयत्नलाई धन्यवाद दिएँ । त्यसै दिउँसो हामी निजी गाडीबाट मेलबर्नका केही ठाउँहरु हेर्नेतर्फ लाग्यौँ । समथर जमिनमा कतै खेतीपाती, कतै गाई, भेडा, घोडापालन खर्कहरु, जताततै सडक सञ्जाल, बजारहरु हेर्दै हामी नाति सोभितका साथी प्रवीणको नयाँ कार खरिद गर्ने क्रममा रोक्सवर्गको शोरुममा पुग्यौँ । कारको विधिवत् पूजाआजा गर्नका लागि साँझमा क्रेजिबर्नको श्री कालिमाता हिन्दु मन्दिरमा पुगेर दर्शन गर्न पाउँदा ज्यादै खुशी लाग्यो । त्यहाँ नेपाली र भारतीय दर्शनार्थीहरुसँग भेटघाट गर्ने र भलाकुसारी गर्ने मौका मिलेको थियो । अर्को दिन ६ मे हाम्रा लागि खासै महत्त्वको र बहुप्रतीक्षित घडी थियो । जसका लागि हामी लामो यात्रा व्यवस्थापन गरेर मेलबर्न पुगेका थियौँ । अस्ट्रेलियाको फेडरेशन युनिभर्सिटीअन्तर्गतको माउन्ट हेलेन क्याम्पस बालाराटबाट सोभितले एम.ई. डिग्री हासिल गरेकाले त्यहीँ नै ग्रेजुएसन दीक्षान्त समारोहको आयोजना गरिएको रहेछ । त्यस समारोहमा विभिन्न विषय र विधामा ग्रेजुएसन गरेका अनेकौँ देशका विद्यार्थीहरु आ ना अभिभावकहरुसमेत लिएर उपस्थित भएका थिए । हामीले थाहा पाएसम्म त्यो कलेज विश्वकै उत्कृष्टमध्ये एउटा पर्दो रहेछ । त्यहाँ ठुलो सङ्ख्यामा नेपाली र भारतीय विद्यार्थीहरु पनि अध्ययन गर्दा रहेछन् । बालाराटको चिसो बिहान १०ः३० बजे एउटा ठुलो हलमा दीक्षान्त समारोहको भव्य कार्यक्रम सुरु भयो । समारोहको प्रारम्भिक चरणमा त्यस भूमिका आदिवासीप्रति सम्मान अर्पण गरियो । डिडगेरिडो नामक परम्परागत बाजा बजाइयो । त्यसपछि दीक्षान्त समारोह बडो उल्लासपूर्ण वातावरणमा चल्न थाल्यो । आआ नो देशका स्कोलरहरुलाई सम्मान गर्दाको क्षणमा ताली र आवाजका साथ हुटिङ गरिएको दृश्य रोमाञ्चक देखिन्थ्यो । नेपाली स्कोलरहरु पनि ढाका टोपीले सुसज्जित भई आ नो राष्ट्रिय झण्डासहित सम्मानित हुँदाको अवस्थामा हामी सबै नेपालीहरु हर्षले भावविभोर बनेका थियौँ । त्यसबाट उनीहरुको आ नो देशप्रतिको अविरल माया र ममताको स्पष्ट झलक मिल्दथ्यो ।

समारोह सम्पन्न भइसकेपछि हामी त्यहाँ राखिएको नास्ता लिएर बालाराट सहर घुम्न लाग्यौँ । बालाराटको लेक विन्डबोर, बोटानिकल गार्डेन, सपिङ सेन्टर र सोभितले दुई वर्षभन्दा बढी समय विद्यार्थी जीवन बिताएको ठाउँहरु घुम्दै हामी लारा भन्ने ठाउँमा बास बस्न पुग्यौँ । अर्को दिन जिलङ वाटरफ्रन्ट गएर त्यहाँको सौन्दर्यको आनन्द लियौँ । समुद्री भागहरु र केही राम्रा दृश्यहरुको फोटो खिच्नेक्रम चलि नै रहेको थियो । त्यसै क्रममा मेलबर्नको उत्तरी क्षेत्रका बासिन्दा वृद्ध दम्पतीसँग भेटघाट र रमाइलो कुराकानी भयो । नेपालको बारेमा सुनेको तर आफूहरु नेपाल पुग्न नसकेकोमा उनीहरुको गुनासो थियो । बेलुकीपख हामी लारा फर्क्यौँ र नातिनी शिल्पाकी छोरी शाइनको जन्मदिन बडो खुशीयालीका साथ पारिवारिक रमाइलो वातावरणमा मनायौँ ।

अस्ट्रेलियाको अर्को प्रसिद्ध एवम् महत्त्वपूर्ण गन्तव्यस्थल सिड्नी जाने हाम्रो कार्यक्रम तय भइसकेको थियो । त्यसैले ९ मेको बिहानै हामी लारा नजिकैको पहाडी क्षेत्र लिनडर्स पिक वाक चढ्यौँ । जहाँबाट भिक्टोरियाको मेलबर्न र अन्य क्षेत्रहरु पनि देख्न सकिने रहेछ । मरन्डा फर्कने क्रममा यु याङ्स रिजनल पार्क, लिनडर्स पिक लुक आउट आदि आकर्षक स्थानहरु, नजिकैका समुद्री तटहरु र वरपरका क्षेत्रका मनमोहक दृश्यहरु हेर्‍यौँ । हामीलाई के थाहा भयो भने अस्ट्रेलियामा समुद्री बीचहरुको (दभबअजभक) राम्रो व्यवस्थापन र भरपूर उपयोग गरिएको रहेछ । १० मेको सबेरै हामी नाति सोभितको गाडीमा मरन्डाबाट सिड्नीतर्फको यात्रामा लाग्यौँ । हाइवेमा ११२ कि.मी. प्रतिघन्टासम्म गाडी दगुर्दै गर्दा हामी त्यस वरपरका क्षेत्रहरु हेर्नेतर्फ व्यस्त थियौँ । अधिकांश समथर भूभाग, वनजङ्गल, खोलाखोल्सा र तालतलैया पार गर्दै जाँदा थुप्रै जमिन बसोबास र खेतीपातीविहीन देखिएका थिए । कहीँ कतै भेडा, गाई, घोडालगायतका पशुपालनका खर्कहरु थिए । अनेकौँ प्रजातिका रुखबिरुवा र खर्कहरुमा चर्दै गरेका जनावरहरु हेर्न हामी लोभिएका थियौँ । हामीलाई यात्रा सहज होस् भन्नका लागि सोभितले कहिले अस्ट्रेलियाका महत्त्वपूर्ण पक्षमा जानकारी गराउने, कहिले गाडी रोकेर नास्ता–पानी गराउने त कहिले महत्त्वपूर्ण स्थान देखाउने गर्दैगर्दा सडक दुर्घटनामा मारिएका कङ्गारुहरु पनि देखाउने गर्थे । त्यसै क्रममा हामीले भिक्टोरिया र न्यु साउथ वेल्सको सिमानामा पर्ने लेक ह्युम ड्याम वाटर रिजर्भर हेर्‍यौँ । त्यसबाट पिउने पानी र सिंचाइका लागि पानीको आपूर्ति गरिएको रहेछ । लेक ह्युम ड्याम पर्यटन र मनोरञ्जनका लागि पनि निकै प्रसिद्ध मानिँदो रहेछ । आखिर एघार घन्टाको लामो मात्रा ८०५ कि.मी. को दूरी पार गर्दै अबेर साँझतिर प्यासेन्डेल रोड एड्मन्डसन पार्क नजिक रहेको भान्जा दिपेश चिलुवालको घरमा बास बस्न पुग्यौँ ।

मे ११ देखि केही दिन हामीले सिड्नी र त्यस वरपरका महत्त्वपूर्ण ठाउँहरु घुम्यौँ र केही नयाँ अनुभव लियौँ । पहिलो दिन एड्मन्डसन पार्क स्टेसनबाट ट्रेन चढेर हामी सिड्नी सिटी टुरको कार्यक्रममा व्यस्त रह्यौँ । म्युजियम स्टेसनबाट एनजाक मेमोरियल पुगेर केही समय त्यहीँ बितायौँ । त्यस भवनभित्र भित्तामा प्रथम विश्वयुद्धमा वीरगति प्राप्त गरेका र घाइते भएका अस्ट्रेलियाका लडाकुहरुको नाम अङ्कित गरिएको रहेछ । त्यसपछि हामी सर्कुलर क्वे स्टेसन हुँदै विश्व प्रसिद्ध ओपेरा हाउस (Opera House) तर्फ लाग्यौँ । त्यो भवन सिड्नी हार्वरको किनारमा निर्मित रहेछ । युनेस्कोले विश्वसम्पदा सूचीमा राखेको ओपेरा हाउस बिसौँ शताब्दीको प्रसिद्ध र विशिष्ट वास्तुकलामध्येको एक कृति मानिँदो रहेछ । १९३२ इ. मा निर्माण भएको प्रसिद्ध सिड्नी हार्वर ब्रिज विश्वकै सबैभन्दा ठुलो आर्च ब्रिजमध्ये एउटा रहेछ र त्यसलाई अस्ट्रेलियाको पहिचानको महत्त्वपूर्ण प्रतीक मानिँदो रहेछ । हामीले ती दुबै महत्त्वपूर्ण कृतिहरुको अवलोकन गर्नुका साथै फोटाहरु खिच्यौँ । त्यसैमा हामी सर्कुलर क्वेबाट फेरी (ँभचचथ) चढेर मेनली बीच पुग्यौँ । त्यो सिड्नीको उत्तरी तटमा रहेको प्रसिद्ध समुद्री किनारा रहेछ र त्यसको सर्फिङ (surfing) को ठुलो इतिहास रहेछ । स्मरण रहोस्, फेरीबाट मेनली बीचतर्फ लाग्दै गर्दा हामीले एउटा सानो टापु देखेका थियौँ, जसको नाम फोर्ट डेन्सन रहेछ । त्यसको इतिहास निकै रोचक रहेछ । १७८८ इ. पछि त्यो टापु सजाय दिइने कैदीहरु राख्ने ठाउँ रहेछ । कैदीहरुलाई निकै कम खानापानी दिएर यातनासाथ राखिने रहेछ । त्यसैले त्यस ठाउँलाई पिन्चुट पनि भनिँदो रहेछ । मेनली बीचपछि त्यसै बेलुकीपख हामीले सिड्नी सहरको भव्यतालाई एकटकले हेर्दै घुमेका थियौँ ।

सिड्नी र त्यस वरपरका केही ठाउँहरु हेर्ने र घुम्ने काममा हामीले पाँच दिन मात्रको समय छुट्याएका थियौँ । अर्को दिन हामी ओलङ्गन जाने बाटोमा श्री वेङ्कटेश्वर मन्दिर पुगेर दर्शन गरेपछि अगाडि बढ्ने क्रममा स्टेनवेल पार्क भ्यू प्वाइन्ट पुग्यौँ । त्यहाँको दृश्यावलोकनका साथ केही फोटाहरु खिचेर हामी सि क्लिफ ब्रिजतर्फ बढ्यौँ । सिड्नीको दक्षिणतर्फ रहेको सि क्लिफ ब्रिज ६६५ मिटर लामो रहेछ र समुद्रको किनारैमा निर्माण गरिएको रहेछ । त्यस ठाउँबाट ह्वेलहरु देख्न सकिन्छ भन्ने पनि सुनियो । त्यस ब्रिज हुँदै हामी ओलङ्गन लाइट हाउस पुगेका थियौँ । लाइट हाउसको बारेमा जान्ने जिज्ञासा बढ्दै जाँदा मलाई के थाहा भयो भने ओलङ्गन हार्बरलाई रुसी जलसेनाको आक्रमणबाट बचाउन किल्लाहरुको निर्माणका साथ लाइट हाउसको व्यवस्था गरिएको रहेछ । त्यसै उद्देश्यका साथ लाइट हाउस नजिकै तीनवटा तोपहरु पनि १८८० इ. को दशकमा राखिएका रहेछन् । त्यहाँको मनमोहक समुद्री दृश्यहरुलाई फोटामा कैद गर्दै हामी चिया–नास्ता लिएर फोग्वाङ शान नान टिन बुद्धिस्ट टेम्पल पारामाटातर्फ लाग्यौँ । त्यहाँ बुद्ध धर्मको अध्ययनका साथै अन्य शैक्षिक एवम् कलाकौशललगायतका क्रियाकलाप हुँदा रहेछन् । त्यहाँको आध्यात्मिक महत्त्व साथै भव्यताको सङ्क्षिप्त जानकारी लिएर हामी कियामा ब्लोहोल ९द्ययिधजयभि० हेर्नेतर्फ आकर्षित भएका थियौँ । न्यु साउथ वेल्सको किनाराको कियामा ब्लोहोल पनि पर्यटकहरुको गन्तव्य आकर्षणमध्ये पर्दो रहेछ । त्यसलाई सबैभन्दा ठुलो ब्लोहोल मानिँदो रहेछ । समुद्रमा उच्च छाल, ज्वारभाटा चल्दा त्यस ब्लोहोलबाट ३० मिटरसम्मको उचाइमा ठुलो आवाजका साथ पानीको मुस्लो निस्कँदो रहेछ । प्रकृतिको अनौठो उपहारले मानिसलाई भरपूर मनोरन्जन दिएको पाइयो ।

सिड्नीबाट औपचारिक बिदाइ भई हामीले न्यु क्यासल, अन्ना बे, शोल बे, जेनिथ बीच, नेल्सन बे आदि पर्यटकीय आकर्षणका क्षेत्रहरु हेर्ने काममा दुई दिनको समय बितायौँ । न्यु साउथ वेल्समा पर्ने न्यु क्यासल अष्ट्रेलियाको दोस्रो पुरानो सहर रहेछ । त्यो ठाउँ औद्योगिक सम्पदा, कलात्मक दृश्यहरु र सर्फ बीचका रुपमा प्रसिद्ध रहेछ । न्यु क्यासल म्युजियम पनि एक पटक हेर्न लायकको रहेछ । त्यहाँ विज्ञान, उद्योग, स्थानीय इतिहास र क्षेत्रीय संस्कृतिसँग सम्बन्धी प्रदर्शनीहरुको अवलोकन गर्दा हामी आश्चर्यचकित भएका थियौँ । न्यु क्यासल विश्वको सबैभन्दा ठुलो कोइला निर्यात गर्ने केन्द्र रहेछ । अर्को पर्यटकीय क्षेत्र अन्ना बे न्यु साउथ वेल्स पोर्ट स्टेफेन्स क्षेत्रमा पर्दो रहेछ । बालुवाले ढाकिएको त्यो क्षेत्र उँुट सफारी, मोटर साइकल राइडिङ, क्वाद बाइकिङ र सर्फिङका लागि प्रसिद्ध रहेछ । पोर्ट स्टेफेन्सको दक्षिणी किनारामा रहेको शोल बे प्रसिद्ध पर्यटक गन्तव्यमा पर्दो रहेछ । त्यसै नेरको टोमरे नेशनल पार्कको पनि निकै महत्त्व रहेछ । मन्द गतिमा बहने सेतो बालुवा भएको शोल बे बीच पौडी खेल्नका लागि निकै उपयुक्त मानिँदो रहेछ । टोमरे नेसनल पार्कको जेनिथ बीचमा पौडी खेल्नका लागि लाइफ गार्ड सेवा रहेनछ । रातो र पहेँलो झण्डा बीचको भागमा पौडी खेल्न सुरक्षित रहेछ । चराचुरुङ्गी, डल्फिन, माछा आदि प्राणीहरु अवलोकनका लागि जेनिथ बे क्षेत्रको ठुलो महत्त्व रहेछ । नेल्सन बे अस्ट्रेलियाको डल्फिन राजधानीका रुपमा प्रसिद्ध रहेछ । त्यहाँ पर्यटकहरुको ठुलो आकर्षण रहेछ । त्यहाँ वर्षभरजसो डल्फिन र ह्वेल हेर्नका लागि सयौँको सङ्ख्यामा क्रुज सिपहरु चल्ने गर्दा रहेछन् । हाम्रो टिमका साथीहरु पनि तोकिएको शुल्क बुझाएर डल्फिन र ह्वेल हेर्ने तीब्र इच्छाका साथ क्रुज यात्रामा सरिक भयौँ । समुद्रमा यत्रतत्र आँखा घुमाउँदै अगाडि बढ्दै जाँदा बडो रोमाञ्चित भएको अनुभव अझै ताजा छ । तर त्यस दिन डल्फिन र ह्वेल देख्ने चाहना पूरा हुन नसकेकाले हामीलाई केही तितो अनुभव भएको थियो । क्रुजका कर्मचारीहरु पनि डल्फिन र ह्वेल देखाउन असमर्थ भएकाले हामी सबै यात्रुहरुसँग क्षमा माग्दै किनारामा अवतरण गराए ।

अस्ट्रेलिया पुगिसकेपछि राजधानी क्यानबेराको सामान्य भने पनि अवलोकन गर्नु हाम्रा लागि अनिवार्यजस्तै थियो । अन्यथा हाम्रो अस्ट्रेलिया यात्रा एक किसिमले निरर्थक बन्न सक्थ्यो । त्यसैले हामी न्यु क्यासल हुँदै १६ मेको अबेर साँझतिर क्यानबेरा पुग्यौँ । त्यसपछिका दुई दिन क्यानबेराका महत्त्वपूर्ण स्थानहरु घुम्ने र हेर्नेमा बितायौँ । विशेषगरी नेसनल म्युजियम अफ अस्ट्रेलिया, पार्लियामेन्ट हाउस, अस्ट्रेलियास्थित नेपाली दूतावास, रोयल मिन्ट, वार मेमोरियलजस्ता क्यानबेरा सिटीका आकर्षणका केन्द्रहरुमा पुग्दा अनेकौँ देशका पर्यटकहरु पनि भेटेका थियौँ ।

राजधानी क्यानबेरा क्षेत्रको लेक बर्ले ग्रिफिनको किनारामा रहेको नेसनल म्युजियम अफ अस्ट्रेलिया दर्शकहरुको आकर्षणको केन्द्र रहेछ । त्यसमा अस्ट्रेलियाका आदिवासी र टोर्स स्ट्रेट आइज्ल्याण्डको संस्कृति र १७८८ इ. देखिको अस्ट्रेलियाको इतिहासका साथै वातावरणसँग मानवीय जीवनको घुलमिलसँग सम्बन्धित विभिन्न सामग्रीहरुको सङ्कलन रहेछ । त्यहाँ प्रदर्शनमा राखिएका पुराना र अनौठा खालका अनेकौँ वस्तुहरुको अवलोकनले हामीलाई अस्ट्रेलिया सभ्यताको विकासक्रमको सङ्क्षिप्त जानकारी मिलेको थियो । अर्को महत्त्वपूर्ण गन्तव्य क्यानबेराको क्यापिटल हिलस्थित पार्लियामेन्ट हाउस थियो । अस्ट्रेलियाको पार्लियामेन्टलाई सरकारी हिसाबले पार्लियामेन्ट अफ द कमन वेल्थ र साथै फेडरल पार्लियामेन्ट पनि भनिन्छ । त्यसमा मोनार्क अफ अस्ट्रेलिया, सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्स रहन्छन् । त्यसको ढाँचा वेष्टमिनिस्टर पद्धतिसँग मिल्दो छ । माथिल्लो सदन सिनेटमा ७६ जना सदस्यहरु र तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा १५० जना सदस्यहरु रहने व्यवस्था छ । हामी बडो कौतूहलका साथ पार्लियामेन्ट हाउसमा प्रवेश गर्ने क्रममा सामान्य सुरक्षाजाँचपछि सजिलै प्रवेश आज्ञा प्राप्त गर्‍यौँ । अरू दर्शकहरुले जस्तै हामीले सिनेट, हाउस अफ रिप्रिजेन्टेटिभ्स र सभाहलका साथै अन्य महत्त्वपूर्ण ठाउँहरु हेर्ने अवसर पाएका थियौँ । अस्ट्रेलियामा सिक्काहरुको व्यवस्थापनका लागि क्यानबेराको डेकिन भन्ने ठाउँमा रोयल अस्ट्रेलियन मिन्ट (Royal Australian Mint) सञ्चालित रहेछ । त्यो अस्ट्रेलियाको राष्ट्रिय सिक्का निर्माण केन्द्र रहेछ, जहाँ विभिन्न परिमाणमा ठुलो सङ्ख्यामा सिक्काहरु काटिँदा रहेछन् । ५ सेन्ट, १० सेन्ट, २० सेन्ट, ५० सेन्ट र १ डलरका कपर, निकेल र आल्मुनियमबाट सिक्काहरु बन्दा रहेछन् । त्यसैगरी सुन र चाँदीका बहुमूल्य सिक्काहरु पनि प्रदर्शनमा राखिएको देखियो । त्यसभित्र हेर्दै जाँदा हामीले सिक्का काट्ने प्रविधि पनि सरसर्ती देख्ने अवसर पाएका थियौँ । मिन्टपछि वार मेमोरियल जानेतर्फ हामी अगाडि बढ्यौँ । क्यानबेराको क्याम्पवेलमा अष्ट्रेलियन वार मेमोरियल (Australian War Memorial) को भीमकाय संरचना रहेछ । त्यो क्षेत्र पार्लियामेन्ट हाउसको सामुन्ने केही दूरीमा रहेको पाइयो । राष्ट्रिय वार मेमोरियलका रुपमा रहेको त्यसमा विश्वयुद्धको स्मरण गराउने सङ्ग्रहालय र पुरातात्त्विक वस्तुहरुको ठुलो मात्रामा सङ्कलन गरिएको रहेछ । त्यो वार मेमोरियल विशेष गरी विश्वयुद्धमा ज्यान गुमाएका अस्ट्रेलियाका लडाकुहरुको स्मरणमा बनाइएको र उनीहरुप्रति समर्पित रहेको झलक पाइयो । त्यसपछिको हाम्रो अर्को गन्तव्य अस्ट्रेलियाको क्यानबेरामा रहेको नेपाली दूतावास थियो । अस्ट्रेलियामा नेपालको कूटनीतिक उपस्थितिको प्राथमिक प्रतिनिधित्व दूतावासबाट हुने व्यवस्था रहेको छ । दूतावासको पहिलो काम अस्ट्रेलियामा रहेका नेपालीहरुलाई सहयोग गर्ने, सांस्कृतिक र आर्थिक सम्बन्ध सुधार्ने र नेपाल र अस्ट्रेलियाबीच पर्यटन प्रवर्धन गर्नु हो । हामीले कान्वेराको ओमेलेमा रहेको नेपाली दूतावासलाई बाहिरबाट सरसर्ती हेर्न मात्र पायौँ किनभने शनिबारको दिन भएकाले दूतावास बन्द रहेछ । त्यसपछि हामी त्यसै नजिक रहेका अरू देशका भव्य संरचना भएका दूतावासहरु हेर्दै क्यानबेरा सिटीतर्फ लाग्यौँ । क्यानबेरा सिटी, सिड्नी सिटी र मेलबर्न सिटीको तुलनामा सामान्य रहेको पाइयो । क्यानबेरापछि १८ मेमा मेलबर्नतर्फ फर्कने क्रममा ह्युम हाइवेमा रहेको होलब्रुकमा केही समय बितायौँ । होलब्रुक दक्षिणी न्यु साउथ वेल्सको ग्रामीण नगर रहेछ । त्यो ठाउँ अस्ट्रेलियाको सबमेरिन टाउनका नामले प्रसिद्ध रहेछ । त्यो ठाउँ भेडाको ऊन उत्पादन, अन्नबाली उत्पादन र पशुपालनका लागि प्रसिद्ध रहेछ । त्यस ठाउँमा एउटा सबमेरिनको नमुनाका साथै सबमेरिन म्युजियम पनि रहेछ ।

अस्ट्रेलियामा रहने भनिएका आधाजसो दिनहरु बितिसकेका थिए । त्यसैले मरन्डा फिर्ता भएको भोलिपल्टैदेखि हामी मेलबर्न र त्यस वरपरका महत्त्वपूर्ण स्थानहरु घुम्ने, हेर्ने प्रयोजनमा बडो सक्रियतासाथ लाग्न थाल्यौँ । त्यसक्रममा हामी ह्विटलसीमा रहेको फलफूल, खाद्य वस्तुहरु, तरकारी र अन्य दैनिक प्रयोगमा आउने स्थानीय सामग्रीहरु पाइने मन्डे मार्केटमा पुगेको प्रसङ्ग पनि स्मरण गरेको छु । वास्तवमा भन्दा मेलबर्न सिटी नै हाम्रो आकर्षणको मुख्य केन्द्र बनेको थियो । बडो उत्सुकताका साथ मरन्डा स्टेसनबाट मेट्रो चढेर अनेकौँ स्टेसनहरु पार गर्दै हामी ि लन्डर्स स्ट्रिट स्टेसनमा उत्रियौँ । त्यहाँ रहेका अनेकौँ रुटका लागि तयार भएका मेट्रोहरुको घनघन आवाज सुन्दै हामी अगाडि बढ्दै गयौँ । तब हामीले गगनचुम्बी भवन, व्यापारिक मलहरु, अनेकौँ सार्वजनिक प्रतिष्ठानहरु, होटल–रेष्टुराँहरु साथै गुडिरहेका सार्वजनिक र निजी यातायातका साधनहरु हेर्दै मेलबर्न सिटीको चमक र वैभवलाई तारिफ गरेका थियौँ । साँझपख यारा नदीको किनारी भागमा भएको झलमल्ल प्रकाशमा फोटोहरु खिच्यौँ । प्रिन्स ब्रिज, स्यानड्रिज ब्रिज, क्विन्स ब्रिजहरुको भव्यता पनि हेर्‍यौँ । मेलबर्न क्यासिनोको चहलपहल हेर्दा त हामी चकित परेका थियौँ । यताउता घुम्दै गर्दा रात परेको थाहै भएनछ । हामीले त्यस रात एउटा नेपाली रेष्टुराँमा खाना खायौँ र मरन्डा फिर्ता भयौँ ।

मेलबर्न सिटीको विशालता र भव्यतालाई एक दिनको छोटो समयमा अवलोकन बिलकुलै सम्भव थिएन । त्यसैले त्यसका लागि अर्को दिन पनि छुट्याउनै पर्‍यो । पहिलो दिन जसरी नै हामी मरन्डा स्टेसनबाट मेट्रो चढेर ि लन्डर्स स्ट्रिट स्टेसनमा उत्रियौँ । हामी बडो जोडतोडले महत्त्वपूर्ण स्थानहरु हेर्ने र घुम्नेमा रमाउन थाल्यौँ । त्यस क्रममा हामी क्विन भिक्टोरिया माके र्ट (Queen Victoria Market) पुग्यौँ । त्यहाँ फलफूल, सागपात, खाद्य वस्तुहरु, कपडा, इलेक्ट्रोनिक सामानलगायतका अनेक प्रकारका वस्तुहरु विक्रीका लागि राखिएका रहेछन् । अस्ट्रेलियन डलरमा थोरैजस्तो मूल्य राखिएको भए पनि त्यसलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा हरेक वस्तु हाम्रा लागि निकै महङ्गो पर्दा रहेछन् । तैपनि केही सामानहरु किन्न हाम्रा साथीहरु लागि परिरहेका देखिन्थे । भिक्टोरिया मार्केटबाट निस्केपछि व्यापारिक मलहरु, सहरी रौनक, भीमकाय महलहरु हेर्ने र घुम्ने क्रम चल्दै रह्यो । त्यसैबेला मार्बल स्टेडियम (Marvel Stadium) ले पनि हाम्रो ध्यान खिचेको थियो । त्यो स्टेडियम अस्ट्रेलियाका प्रमुख स्टेडियमहरुमध्ये एउटा रहेछ । त्यो स्टेडियम खेलकुद कार्यक्रमका साथै अन्य मनोरञ्जन र सांस्कृतिक कार्यक्रमका लागि प्रयोग गरिने रहेछ । कार्यक्रमको समयमा त्यहाँ ५६,३४७ दर्शकहरु बस्न सक्ने क्षमता रहेछ ।

मेलबर्न सिटीको किङ स्ट्रिट र ि लन्डर्स स्ट्रिटको कुनामा रहेको सि लाइफ मेलबर्न अक्वारियम (Sea Life Melbourne Aquarium) पनि दर्शकहरुको आकर्षणको केन्द्र रहेछ । त्यहाँ प्रवेश गर्नका लागि हामीले तोकिएको शुल्क बुझाएर टिकट लियौँ । अक्वारियम प्रवेश गरेपछि त्यहाँ सङ्कलन गरिएका सामुद्रिक प्राणीहरुको दृश्यले हामीलाई आश्चर्य पारेको थियो । त्यहाँ जेली फिस, सार्क, सीहर्स, गोहीहरु, पेन्गुइनलगायत सयौँ प्रजातिका माछाहरु राखिएका थिए । त्यहाँ राखिएका प्राणीहरुलाई सरसर्ती हेर्दै जाँदा हामीलाई डेढ घन्टा बितेको पत्तै भएन । पेन्गुइन राखिएको ठाउँमा किङ पेन्गुइन र जेन्टो पेन्गुइनहरु खेलिरहेका देखिन्थे । त्यसैबिच त्यहाँ प्रदर्शन गरिएका पेन्गुइनहरुको विकास सङ्घर्षको ऐतिहासिक डकुमेन्ट्री हेर्दा दर्शकहरु मन्त्रमुग्ध भएका देखिन्थे । त्यहाँ ५५० प्रजातिका १० हजारको सङ्ख्यामा प्राणीहरु रहेको जानकारी पाइयो । त्यसै दिन बेलुकीपख हामी मेलबर्न स्काइडेक (क्पथमभअप) चढ्नका लागि टिकट लियौँ । त्यस स्काइडेक दक्षिणी गोलार्द्धको सबैभन्दा अग्लो अवलोकन डेक मानिँदो रहेछ । तीन सय मिटरको उचाइबाट मेलबर्न सिटी र त्यस वरपरका स्थानहरुको सहज दृश्यावलोकन हुँदो रहेछ । साँझमा जताततै बिजुली बत्ती झलल बलेको चम्किला दृश्यहरु हेर्दा छुट्टै आनन्दको अनुभूति मिल्दो रहेछ । युरेका टावरको ८८औँ तलामा रहेको त्यस स्काइडेकमा पेय पदार्थ र खानेकुराको बार पनि सञ्चालित रहेछन् ।

अस्ट्रेलियामा हामीले घुमे, हेरेका साथै अनुभव गरेका अरू ठाउँहरु एवम् सन्दर्भ पनि उल्लेख गर्नु प्रासङ्गिक हुनेछ । बालाराट सिटीको अवलोकन गर्दै जिलङतर्फ लाग्दा बाटोमा हामी क्रायल क्यासल (Kryal Castle) पुगेका थियौँ । बालाराट क्षेत्रमा पर्ने त्यस क्यासल मध्यकालीन साहसिक पार्क मानिँदो रहेछ । आजकल त्यसलाई रिसोर्ट साथै वैवाहिक कार्यक्रम र सभा समारोहका लागि प्रयोग गरिँदो रहेछ । द जस्टिङ एरिना, द टर्चर म्युजियम, द विजार्डस ् वर्कसप र द रोयल ब्यान्क्वेट हलजस्ता त्यहाँका मुख्य आकर्षण रहेछन् । क्रायल क्यासल घुमे, हेरेपछि हामी जिलङ बोटानिक गार्डेनतर्फ अगाडि बढ्यौँ । त्यो गार्डेन १८५१ इ. मा २०० एकडमा रहने गरी सुरु गरिएको रहेछ । त्यहाँ विश्वभरबाट ल्याइएका अनेकौँ प्रजातिका, अनेकौँ रङ्ग र बास्नाका अनौठा बिरुवाहरु सङ्कलन र संरक्षण गरिएका रहेछन् । शान्तपूर्ण वातावरणमा अनेकौँ किसिमका बोटबिरुवाहरु हेर्न पाउँदा हामीलाई गजब अनुभव भएको थियो ।

अस्ट्रेलिया बसाइका अन्तिम दिनहरुमा हामीले विशेषगरी समुद्री बीचहरु, तिनीहरुको व्यवस्थापन तथा उपयोग सम्बन्धमा हेर्ने र बुझ्ने कार्यक्रमलाई विशेष महत्त्व दिएका थियौँ । कतिपय बीचहरुको ऐतिहासिकता एवम् तिनीहरुको सामरिक महत्त्वबारे पनि केही जानकारी पाउन सकेका थियौँ । त्यस क्रममा हामीले भिक्टोरियाका एन्जल सी र त्यस नजिकको लाइट हाउस, टोर्क्वे सर्फ बीच, पोर्ट फिलिप हेड्स मेरिन नेसनल पार्क, वेस्टर्न पोर्ट फेरिज, केप स्यान्क बोर्ड वाक, सेन्ट किल्डा बीच, ब्राइटन बीच, बाथ हाउस, लुना पार्क आदि घुम्यौँ, हेर्‍यौँ । स्मरणीय के पनि छ भने केप स्यान्क बोर्डवाकपछि साँझपख हामीले क्यारुम डाउन्समा रहेको भिक्टोरियाको सबैभन्दा ठुलो हिन्दु मन्दिर श्री शिव–विष्णु मन्दिरको दर्शन गरेका थियौँ । त्यहाँ ठुलो सङ्ख्यामा नेपाली र भारतीय दर्शनार्थीहरुको घुइँचो लागेको थियो ।

एन्जलसी नजिकैको ग्रेट ओसन रोड चकलेट र आइसक्रिम याक्ट्रीभित्र प्रवेश गरेको क्षण पनि उल्लेख्य रहेको छ । त्यहाँ प्रवेश गर्न टिकट लिनुपर्ने रहेछ । प्रवेशपछि त्यहाँ उत्पादन भएका चकलेट र आइसक्रिम चाख्न पाइने व्यवस्था रहेछ । हामीले विभिन्न प्रकारका चकलेट र आइसक्रिमको स्वाद लियौँ साथै तिनको तयारी प्रविधिको पनि सामान्य जानकारी लियौँ । २६ मेका दिन हामी यारा नदी, यारा भ्यालीतर्फ लाग्दै गर्दा कङ्गारु ग्राउण्ड मेमोरियल पार्कको टावर अफ रेमेम्ब्रेन्स पुग्यौँ । त्यस टावर प्रथम विश्वयुद्धमा ज्यान गुमाएका योद्धाहरुको सम्झनामा निर्माण गरिएको रहेछ । त्यस टावरबाट दृश्यावलोकनपछि हामी यारा भ्यालीको रमणीय वातावरण हेर्दै त्यहाँको चकलेट र आइसक्रिम याक्ट्री प्रवेश गर्न पुग्यौँ । त्यहाँ पनि चकलेट र आइसक्रिम चाख्न र किन्न पाइँदो रहेछ ।

अस्ट्रेलियाबारे मेरा केही तथ्यगत जानकारी र अवलोकनबाट भएका अनुभूतिहरुलाई निष्कर्षका रुपमा प्रस्तुत गर्न लागेको छु । अस्ट्रेलियालाई विश्वका देशहरुमा ज्यादै उच्च तहको जीवनस्तर भएको देश मानिँदो रहेछ । त्यहाँ प्रतिव्यक्ति आय ६६ हजार अमेरिकी डलरजस्तो रहेको पाइन्छ । आर्थिक वृद्धि, उच्च रोजगारी, विदेशी लगानीमा वृद्धि साथै नयाँ बजारको विकास हुँदै गएको दृष्टिले अस्ट्रेलिया विश्वको ज्यादै धनी देशमध्येको गणनामा आउँदो रहेछ । त्यहाँको साक्षरता दर ९९ प्रतिशत हुनुले शैक्षिक विकासमा समेत अस्ट्रेलियाको स्थान उच्च रहेको मान्न सकिन्छ । अस्ट्रेलियामा सडक यातायातलगायत सबै किसिमका यातायात र सञ्चार सुविधाको पर्याप्तताजस्तै अनुभव गर्न सकिन्छ । अमेरिका–इरान युद्धका कारण उत्पन्न इन्धन सङ्कटका कारण भिक्टोरिया सरकारले २०२६ को अप्रिल र मे महिनाभर बस, ट्रेन, मेट्रो, ट्रामजस्ता सार्वजनिक यातायात निःशुल्क सञ्चालन गरेबाट लोककल्याणकारी राज्यको उदाहरण पेस गरेको देखिन्छ । हरेक क्षेत्रमा जनतालाई प्राथमिकतामा राख्ने, हरेक क्षेत्रमा ऋण प्रवाह गर्नेजस्ता कार्यले पनि लोककल्याणकारी राज्यको थप पुष्टि मिल्छ । धनी र गरिब भन्ने व्यवहार खासै देखिएन । सिटीहरुमा मात्र कहीँकतै केही मात्र माग्नेहरु देखिँदा रहेछन् ।

धेरैजसो मानव बस्तीहरुमा एकैनासका भुइँतले घरहरु, कतै एकतले घरहरु र सहरहरुमा अग्लाअग्ला भवनहरु खडा गरिएका छन् । घर किन्ने र विक्री गर्ने काममा सरकारी एजेन्सीहरुमार्फत काम हुँदो रहेछ । सरकारी इजाजतविना पुराना घरहरुको बाहिरी आवरण बदल्न नपाउने नियम रहेछ । कमाउने, खाने र घुमफिर गर्ने साथै कामलाई सम्मान गरिने प्रचलन रहेछ । त्यहाँको जनजीवन सभ्य, सुसंस्कृत, अनुशासित साथै महिला, बालबालिका, वृद्ध र असक्तहरुलाई हरेक ठाउँमा प्राथमिकता दिइने खालको रहेछ । हरेक व्यक्तिमा कानुनको पालनालाई आ नो दायित्व ठान्ने भावना रहेछ । कानुनको अवज्ञा गर्ने व्यक्ति कठोर सजायको भागी हुने रहेछ । एक अर्थमा भन्दा त्यहाँ असल संस्कार र पद्धतिको विकास भएको रहेछ । क्रिस्चियन, मुस्लिम, हिन्दु, बुद्धिस्ट आदि धर्मावलम्बीको बसोबास रहे पनि धर्मका नाममा झैझगडा होइन, सहिष्णुताको व्यवहार हुँदो रहेछ । त्यहाँका प्रवासी नेपालीले ठाउँठाउँमा कम्युनिटी सेन्टरहरु खोलेका रहेछन्, जहाँ नेपालीहरु भेला हुने, केटाकेटीलाई नेपाली भाषा पढाउने साथै तिनीहरुको व्यक्तित्व विकासका लागि अन्य अतिरिक क्रियाकलापहरु हुँदा रहेछन् । पुराना ऐतिहासिक र पुरातात्त्विक महत्त्वका किल्ला, क्यासल, लाइट हाउस, घर, भवन आदिको उचित संरक्षण र सम्भार गरिँदो रहेछ । समुद्र किनारमा अनेकौँ बीचहरु व्यवस्थित गर्ने, पानीजहाज, डुङ ्गा, फेरी आदि सञ्चालन गर्ने ठाउँठाउँमा पार्कहरु, बोटानिकल गार्डेनहरु र सङ्ग्रहालय निर्माण गर्नेजस्ता कार्यबाट राज्यले ठुलो आर्थिक उपलब्धि हासिल गर्दो रहेछ । जनतालाई पायक पर्ने ठाउँहरुमा खाद्य वस्तुहरु, फलफूल, तरकारी, कपडा, औषधि, इलेक्ट्रोनिकलगायतका आवश्यकीय सामग्रीहरु खरिद गर्नका लागि ठुलाठुला कोल्स, उलवर्थस्, डि.एफ.ओ., मल आदि सञ्चालित रहेछन् । मेलबर्नमा खोलिएको बहुउद्देश्यीय च्याडस्टोन सपिङ सेन्टर (Chadstone Shopping Centre) अस्ट्रेलियाको सबैभन्दा ठुलो सपिङ सेन्टर मानिँदो रहेछ । सरकारले त्यहाँका आदिवासीहरुप्रति विशेष संरक्षणको नीति अबलम्बन गरेको रहेछ । अस्ट्रेलिया विश्वका अनेकौँ देशका मानिसहरुको बसोबास स्थल रहेछ । त्यसैले त्यहाँको जनजीवन अनेकौँ धर्म, भाषा, संस्कृति र परम्पराको समागम स्थलजस्तै रहेछ । विभिन्न देशका पर्यटकहरुको आकर्षण स्थलका रुपमा पनि अस्ट्रेलियाको पहिचान र प्रसिद्धि बनेको रहेछ । बसोबास, भाषा, नियमकानुन र सरकार, धर्म, खेलकुद, बसाइँसराइजस्ता क्षेत्रहरुमा आज पनि अस्ट्रेलियामा बेलायतको व्यापक प्रभाव परेको रहेछ । त्यहाँ स्थायी बसोबास गरी व्यवस्थित जीवन बिताउन सक्षम भएका नेपाललगायतका विदेशीहरु समुज्ज्वल भविष्यको आशामा सन्तुष्ट देखिन्छन् । तथापि राम्रो रोजगारी, शिक्षा आर्जन र स्थायी बसोबास (एच्) को प्रतीक्षामा कुरिरहेका भने असमञ्जस्य अवस्थामा गुज्रिरहेका हुँदा रहेछन् ।

करिब एक महिनाको अस्ट्रेलिया बसाइका दिनहरु बितेको पत्तै भएन । हाम्रो फिर्ती टिकट भएको १ जुनका दिन हामी मेलबर्न एयरपोर्टबाट कतारको दोहा हुँदै २ जुनका दिन काठमाडौँ उत्रने तयारीमा थियौँ । नाति सोभित र नातिनी ज्वाइँ सरोजले हामीलाई मेलबर्न एयरपोर्टबाट बिदाइ गर्दाको अवस्थामा हामी सबै अत्यन्त भावुक बनेका थियौँ । जेजसरी पनि मन बुझाएर भारी हृदयका साथ छुट्नु परेको क्षण थियो । निर्धारित समय रातको ११ः०० बजेतिर कतार एयरवेजको भीमकाय जहाजले हामीलाई मेलबर्नको धर्तीबाट उठाएर आकाशमा सयर गराउन थाल्यो । जहाजबाट लामो यात्रा गर्नु थियो । रात छिप्पिँदै थियो । मेरो मनमा भने अनेकौँ तर्कनाहरु खेलिरहेकाले राम्रो निद्रा पर्न सकेन । अस्ट्रेलियामा देखेको भौतिक विकास, समुन्नत सभ्यता, धनाढ्य संस्कृति र मनोरम दृश्यहरु सिनेमाको पर्दामा आएजस्तै मेरो मनमस्तिष्कमा घुमिरहेका थिए । आ नो देशको अवस्था पनि सोच्दथेँ र त्यस किसिमको विकासको चुलीमा कहिले पुग्ला भन्ने उत्सुकताले छट्पटाउथेँ । मलाई लाग्यो हाम्रो देशमा भिजन, दृढता, इच्छाशक्ति र त्याग भएका शासकहरुको खडेरी परेको छ । व्यवस्था बदलिन्छ तर शासकहरुको मनोवृत्ति र कार्यशैली पुरानै भएकाले अवस्था बदलिँदैन । देशका होनहार युवाहरु रोजगारीका लागि विदेश पलायन हुन बाध्यजस्तै छन् । तिनीहरुका आ नै कथाव्यथा छन् । परिवारसँग भेट हुने संयोग जुट्न मुस्किल छ । आ नै मातृभूमि र बाबुआमा पनि बिरानो हुँदै गएका छन् । देशका यस्ता यावत् समस्याहरु समाधान गर्दै नेपालमा समुन्नतिसहितको नयाँ युग थालनी गर्न एउटा सक्कली राजनेताको उदय हुनैपर्छ । यस्तैयस्तै चिन्तनमा डुब्दै गर्दा निराशाबीच केही आशाका किरणहरु पनि झुल्कन्थे । त्यसैबीच कहिले झकाउने त कहिले ब्युँझने गर्दागर्दै पट्यारलाग्दो लामो यात्रा पार गरेर हाम्रो जहाज दोहा एयरपोर्टमा अवतरण भएछ ।