(ध्वनि प्रतिनिधिबाट)
विभिन्न कार्यक्रमहरुका बीच भानु–जयन्ती
गुल्मी , यही आषाढ २९ गते स्थानीय किरण पुस्तकालयको आयोजनामा नेपाली साहित्यका सर्वश्रेष्ठ पुरूष तथा आदिकवि भानुभक्तको १५८औँ जन्म–जयन्ती बडो धुमधामका साथ मनाइयो ।
यस अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको थियो । प्रवचनमा डा. टीकाराम पन्थीले भन्नुभयो – आदिकवि भानुभक्त नेपाली साहित्यका सर्वश्रेष्ठ पुरूष हुन् । उनी नभएको भए हाम्रो साहित्य वर्षौंसम्म पछाडि पर्ने थियो । श्री भीष्मप्रसादले भन्नुभयो भानुभक्तको विषयमा अनुसन्धान गर्न अझै बाँकी रहे तापनि उनी आदि महाकवि हुन् । यसै सन्दर्भमा प्रेमचन्द्र शर्माले उनका विभिन्न रोचक फुट्कर उदाहरणहरु दिनुभयो । यसपछि अल्छी गोपाल पाण्डेले पनि उहाँका विषयमा दुईचार कुराहरु दर्शाउनुभयो र प्रमुख जिल्ला अधिकारी श्री रामजीप्रसाद गुप्ताले जेसुकै तर्कहरु र दोषहरु उठे पनि भानुभक्तको देन अविस्मरणीय छ भन्नुभयो । सभाको सभापतित्व गुल्मी जी. पं. सभापति श्री वैकुण्ठबहादुरले गर्नुभएको थियो ।
स्मरणीय छ कि किरण पुस्तकालयले बितेको कात्तिक महिनामा देवकोटा–जयन्ती मनाएको थियो र त्यस समयदेखि कविजयन्ती मनाउने परम्परा तम्घासमा चलेको छ ।
प्रशासकको मनपरी तन्त्रले युवक साहित्यकारमा क्षोभ
वर्तमान प्रशासकबाट साहित्यको प्रगतिमा सहयोग पाउने आशा
(ध्वनि प्रतिनिधिबाट)
(प्रस्तुत समाचार केही समय पहिलेको भए तापनि अशिक्षित र धेरै पछाडि परेका जिल्लामा के कस्ता घटनाहरु घट्दछन् भन्ने स्पष्ट पार्न जनसमक्ष राखिएको छ।)
गुल्मी ,
गत ज्येष्ठ ३० गते श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवको ५२औँ शुभ जन्मोत्सवको शुभ उपलक्ष्यमा स्थानीय एक पुस्तकालयमा साहित्य गोष्ठीको आयोजना गरिएको थियो।
उक्त पुस्तकालयको आयोजनामा आयोजित साहित्य गोष्ठीमा तत्कालीन प्र. जि. अ. ज्यू (हाल यहाँबाट सरुवा हुनुभएको छ) बाट रचनाहरु जचाएर मात्रै पाठ गर्ने भनी जचाउँदा तीन रचनाहरुलाई गोष्ठीमा पढ्न दिइएन । यसले गर्दा स्थानीय नवोदित युवक साहित्यकारहरु त्यसै खिन्न भएका छन् ।
यी रचनाहरु साधारण थिए । कुनै विदेशी नेताहरुको गुणगान थिएन, दोहोरो अर्थ लाग्ने थिएन, कसैप्रति आरोप लगाइएको थिएन, केवल वास्तविकता र यथार्थलाई अङ्गालिएको थियो । अर्को कुरा साहित्यमा स्वच्छन्द विचार पोख्न नपाएकोमा साहित्यमा बन्धन लगाइयो, स्वतन्त्रताको दुरुपयोग भयो भन्ने कुरा पनि ठीक हुन आउँछ । प्रशासकबाट भएका यस्ता घटनाहरुले निश्चय पनि गहिरो छाप पार्दछ र यसरी आ नो प्रभुत्व जमाउन खोज्ने र राष्ट्रियता र राष्ट्रको मागलाई मेटाउने प्रयास गर्नेहरुलाई कतै यी अराष्ट्रिय त होइनन् भन्ने कुरामा पनि शङ्का पर्न जान्छ ।
गुल्मी जिल्लाको निमित्त आउनुभएका वर्तमान प्रमुख जिल्ला अधिकारीज्यूबाट तत्कालै देखाइएको उदार भावना, पुस्ताकालयले पाएको सहयोग र साहित्य गोष्ठीमा दिनुभएका प्रवचनहरुले अब गुल्मीको साहित्यले पनि प्रगति गर्छ कि भन्ने आशा लिइएको छ । उहाँको समयमा गुल्मेली साहित्य र समाजले के कति सहयोग र सेवा पाउँछ यो अझै हेर्न बाँकी नै छ । – साभार ः निष्पक्षध्वनि राष्ट्रिय साप्ताहिक वर्ष १, अङ्क १७, भैरहवा, २०२८ साउन १२ गते बुधबार (२८, जुलाई १९७१) बाट ।