जगत् सरिरहेछ । समय सरिरहेछ । जगत् र समयसँगसँगै सरिरहेछन् जीवनहरू पनि । प्रतिक्षण सरिरहने संसारमा सब अस्थिर र चलायमान छन् । धन, जन, यौवन, शक्ति, सत्ता सब चञ्चल छन् बिजुलीझैं । कसैसँग रहन्नन् सधैं यिनी । कोही पनि मत्त, प्रमत्त, उन्मत्त नबनून् । सबैले बुझून् । हिजोझैं आज छैन । आजझैं भोलि हुने छैन ।
मान्छेका उदय पनि छन् अन्त पनि छन् । सम्पत्तिसँगै विपत्ति पनि छन् । उत्थानसँगै पतन पनि छन् । सुखदुःखहरू चक्रझैं ती घुम्छन् । ती समयक्रममा आउँछन्, समयक्रममा जान्छन् पाहुनाझैं । त्यागका, निष्ठाका, बलिदानका, देशप्रेमका र सरलताका गाइन्छन् गाथा । राग, द्वेष, लोभ, भ्रष्टाचरण, अहङ्कार, भडक र क्रुरताको पूजा हुँदैन कतै पनि लोकमा । छाता र सुराहीका गाथा गाइँदा महल र धनका रासका निन्दा किन हुन्छन् ?
समयले कसैलाई उचाल्छ । समयले कसैलाई पछार्छ । बादल बनेर उडेका जलबिन्दुहरू कुनै क्षण धर्तीमा झर्नुपर्छ । समयले दिएको पाठ सबैले पढ्नुपर्छ, बुझ्नुपर्छ । धर्तीमा टेकेर हिड्नुपर्छ, सत्यमा टेकेर चल्नुपर्छ । जीवन दुःखान्त छ । समयले लात हानेपछि धनका धोक्राहरु काम लाग्दैनन् । समयमै चेत खुलेन भने प्रशंसा ओढेर उभिएकाहरू निन्दा बोकेर ढल्नेछन् ।
विश्वविजयी बन्न चाहन्थ्यो हिटलर । उसको क्रुरताको चक्रमा ग्यासच्याम्बरमा डढे लाखौं यहूदीहरू । अन्ततः आफ्नो कन्चटमा आफै गोली हानेर मर्नुपर्यो हिटलरलाई । असम्भव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा हुन्छ भन्ने नेपोलियन बोनापार्टलाई एकान्त सेन्टहेलेना टापुमा मन्दविष खाएर मर्नुपर्यो । समयले सम्राट्लाई पनि निरिह बनाउँदो रहेछ । साम्राज्य माटोमा होइन जनजनको मनमा बनाउनु पर्दोरहेछ । नेताहरू हुन् वा जेताहरू समयको पाठ पढ्नुपर्छ सबैले ।
राजनीति रागद्वेष, छलकपट, लोभलाल्चा र छक्कापञ्जाको खेलखाल नहोस् सधैं । अस्थिर र असफल सिसिफसको कथा नबनोस् सधैं । एउटा आदर्शको उज्यालोले यसलाई बाटो देखाओस् । निष्ठा, त्याग र देशप्रेमले डोर्याउन यसलाई । परिवर्तनलाई आत्मसात् गरेर अघि बढ्ने प्रेरणा सबैलाई दुर्गा भवानीले प्रदान गरून् ।
पुरै पुस्तक डाउनलोड गर्नुहोस.. यहाँ पढ्नुहोस